गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको भयो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल क्यान्सर अस्पतालले गैरआवासीय नेपाली संघको परिचय पत्र प्राप्त पंजिकृत सदस्य र उनीहरुका परिवारलाई आफूले प्रदान गर्ने विभिन्न सेवाहरुमा ५ देखी १५ प्रतिशत सम्म छुट दिने भएको छ ।
समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले नेपाललाई विश्वव्यापी रुपमा नै स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न सकिने र नेपालमा उत्कृष्ट प्रकारको सेवा दिन स्वास्थ्य संस्थाहरुको विकास भइरहरहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले यस सहमतीबाट गैरआवासीय नेपाली र तिनका परिवारलाई नेपालमै उपचार गर्न प्रेरणा मिल्ने धारणा राख्नु भयो । उहाँले नेपाल क्यान्सर अस्पताल प्रति धन्यवाद व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । यसरी नै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले सम्झौता बाट दुवै संस्था वीच सम्बन्ध विस्तार भएको र भविष्यमा यसलाइ सुदृढ पार्दै लैजाने बताउनु भयो । उहाँले अस्पताल स्थापनाको इतिहासको जानकारी दिनु हुँदै नेपाल भित्र नै उत्कृष्ट सेवा दिने अस्पताल स्थापना गर्न सकेकोमा खुशी व्यक्ति गर्नु भयो ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा सानिमा लाइफ इन्सुरेन्सका प्रतिनिधिहरु एवं पत्रकारहरुको उपस्थिति थियो ।