सानिमा लाइफ इन्सुरेन्स र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः
गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र सानिमा लाइफ इन्सुरेन्स वीच एक सहमती पत्रमा हस्ताक्षर भएको थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार सानिमा लाइफ इन्सुरेन्सले संघको सदस्यहरु र तिनको परिवारलाई जिवन विमा वापत प्रिमियममा ५ प्रतिशत छुट र जीवन विमा सम्बन्धी अन्य सेवाहरुमा विशेष सहुलियत दिने भएको छ । यसरी नै गैरआवासीय नेपाली संघले सानिमा लाइफ इन्सुरेन्सको लोगो आफ्नो वेभसाइटमा राख्ने भएको छ ।
हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ति परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । उहाँले सानिमा लाइफ इन्सुरेन्स प्रति धन्यवाद व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । यसरी नै सानिमा लाइफ इन्सुरेन्सका उपमहाप्रबन्धक केशव राज केसीले आजको सम्झौता बाट दुवै संस्थाको सम्बन्ध विस्तार भएको बताउनु भएको थियो ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र सानिमा तर्फबाट उपमहाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा सानिमा लाइफ इन्सुरेन्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।